विपदबाट प्रभावितहरुको उद्दार, राहत तथा सहयोगका लागि ध्यानाकर्षण

Share:

७ आषाढ, २०७८
एक हप्ता अगाडिदेखि परिरहेको अविरल वर्षासंगै आएको बाढि, पहिरो र डुवानका कारण सिन्धुपाल्चोक, मनाङ, बाजुरा, डोटी, कास्की, बागलुङ, मनाङ, पर्वत, पाल्पा, अर्घाखाँची, चितवन, नवलपरासी, लगाएतका जिल्लाहरु प्रत्यक्षरुपमा प्रभावित भएका छन् । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र ईन्द्रावतीमा आएको बाढिले वितण्डा मच्चाएको छ । यस प्राकृतिक प्रकोपमा सिन्धुपाल्चोकमा मात्रै ७ जना भन्दा बढिको ज्यान गएको, कैंयौ व्यक्तिहरु बेपत्ता भएको र ३६७ भन्दा बढि घर परिवारहरु विस्थापित भएका छन् । हजारौ विघा धान खेति गरिएको जमिन बगरमा परिणत भएको छ । खेतियोग्य जमिनका साथै पशु फारम, माछा ब्यवसाय, तरकारी खेतीका संरचनाहरु पूर्ण रुपमा नष्ट भएका छन् । नदि किनारामा अस्थायी बसोवास (छाप्रो) बनाई दैनिक गुजारा गर्दै आएका मजदुरहरुको झनै विचल्लि भएको छ । सयौ परिवार घरवारविहिन भएका छन् । पुल, सडक, विद्युत, खानेपानीका संरचनाहरु ध्वस्त भएका छन् । नदि किनारामा अवस्थित मेलम्ची बजार बगरमा परिणत भएको छ । अन्य जिल्लाहरुमा पनि सयौं परिवार बाढी, पहिरो र डुबानको जोखिममा रहेका छन् । यस अवस्था प्रति नागरिक समाज संस्थाहरुको गम्भिर ध्यानाकर्षण भएको छ । यस प्राकृतिक विपद्बाट हुन गएको ठूलो धनजनको क्षतिप्रति हामी दुस्ख ब्यक्त गर्दछौं । राष्ट्रिय कृषक समुह महासंघ नेपाल, फियान नेपाल लगायतको टोलीले मेलम्चि क्षेत्रको स्थलगत भ्रमण तथा अनुगमन गरि स्थानीय जनप्रतिनिधिहरु एवं प्रभावित समुदायसंग छलफल गरेको छ । प्रभावित क्षेत्रको अवलोकन पश्चात निम्न पहल कदमीका लागि सरकारको ध्यानाकर्षण गर्दछौं ः

  • प्राकृतिक विपत्तिबाट प्रभावित घरधुरीको यर्थाथ तथ्यांक संकलन, राहत तथा क्षतिपूर्ति, स्वास्थ्योपचार, तथा उचित बसोबासको ब्यवस्था र दिगो आवासको सुनिश्चितताको बातावरण मिलाउन संघ, प्रदेश र स्थानीय सरकारलाई हार्दिक आग्रह गर्दछौं ।
  • बाढि पहिरो, डुबान जस्ता वर्षेनी दोहोरीरहने यस्ता विपत्ति र विपत्तिबाट सयौ नागरिकहरुले ज्यान गुमाउनुपर्ने अवस्था, घरबारविहिन हुनुपर्ने अवस्थाको यथार्थतालाई ध्यान दिदै क्षतिलाई न्यूनिकरण गर्न प्रकृतिक प्रकोपबाट जोगिन आवश्यक पूर्वतयारीका योजनामा राज्यले लगानी गर्ने र क्षति कम गर्ने उपायहरु अवलम्बन गर्नुका साथै दिगो विकास र बातावरणमैत्री विकास अभ्यास अवलम्बन गर्न गराउन समेत हार्दिक अपिल गर्दछौ ।

साथै, यस विपद्को घडीमा मानवीय सहयोगको उच्चतम् भावनाका साथ उद्धार, राहत तथा पुनस्र्थापनाका लागि जुट्न हामी सबै समक्ष हार्दिक अनुरोध गर्दछौ ।

ध्यानाकर्षण पत्र

नवराज बस्नेत, अध्यक्ष, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल
अशोक सिंह, कार्यकारी निर्देशक, फियान नेपाल
विदुर सुवेदी, सचिवालय सदस्य, खाद्य अधिकारका लागि राष्ट्रिय संजाल
पंकजकुमार कर्ण, संयोजक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सञ्जाल

Related Posts