आर्थिक, सामाजिक र साँस्कृतिक अवस्थामा सुधार गर्दै गन्धर्व समुदाय

Share:

सारङ्गी  बजाउँदै  गाउँघरमा  वीरताको  गीत  गाएर  अरुले  दिएको  अन्न  र पैसामा जीविको पार्जन गर्न बाध्य भूमिहिन दलित गन्धर्व समुदाय अहिले घर र जग्गाका मालिक भएका छन् । समुदायका अधिकांश घरपरिवारको आफ्नै  नीजि  व्यवसाय  छ  ।  राम्रो  आम्दानीले  परिवारको  गास  बास सुरक्षित भएको छ भने बालबालिकाहरुले पनि राम्रो विद्यालयमा उचित शिक्षादिक्षा  हासिल  गरिरहेका  छन्  ।  उनीहरुको  आफ्नै  सामुदायिक भवन छ जसमा गन्धर्व समुदायको इतिहास, परम्परा र सँस्कृति झल्किने संग्राहलयको निर्माण भएको छ । कुनै बेला राज्य र समाजबाट उपेक्षित यो समुदाय अहिले सबैको लागि नमुना समुदाय बन्न सफल भएको छ ।

वि.सं.  २०५२  सालमा  सुकुम्बासी  समस्या  समाधान  आयोगले मानखोलाको  किनारमा  प्रति  घरपरिवार  १०  धुर  देखि  ३  कठ्ठा  सम्मा जग्गा उपलब्ध गराएको थियो तर खोला किनारको जग्गा बर्षेनीको बाढीले कटान हुँदै थियो । बचेको केही जग्गा पनि अन्य समुदायले कब्जा गर्नाले उनीहरु आफ्नै जग्गामा भोगाधिकारबाट वञ्चित थिए । आधुनिकीकरण सँगै गीत सङ्गितमा आएको परिवर्तनका कारण यो समुदायको पुख्र्यौली पेशा पनि सङ्कटमा पर्न थाले पछि यिनीहरुलाई आफ्नो र परिवारको पेट पाल्न मुश्किल हुन थाल्यो । कमजोर आर्थिक अवस्था, गरिबी, अशिक्षा, सामाजिक  भेदभावका  कारण  यो  समुदाय  खाद्य  अधिकारबाट  वञ्चित भए ।

वि.सं.  २०६८  सालदेखि  फियान  नेपालले  यस  सवाललाई  खाद्य अधिकारको  दृष्टिकोणबाट  उठान  गर्न  शुरु  गरेको  हो  ।  विस्तारै  यस समुदाय सँगठित हुँदै खाद्य अधिकार प्राप्तीका लागि आफ्नो सवालको आफै नेतृत्व गर्न र सवाल सम्बोधनको लागि बाटोहरु पहिल्याउन सक्षम हुँदै गए । उनीहरुले स्थानीयदेखि केन्द्रिय तहसम्मको सरकारी निकायमा आफ्ना मागहरु राख्नुका साथै जीविकोपार्जनको लागि स्रोतहरु पनि प्राप्त गर्न थाले । साथसाथै अन्य गैररसकारी संघसंस्थाहरुबाट पनि आयआर्जन तालिम तथा सहयोगहरु प्राप्त गर्न थाले ।

DF Norway को सहयोगमा गन्धर्व समुदायको समग्र विकासमा सहयोग गरिरहेको सहकर्मी समाज पनि उनीहरुको सफलतामा गर्व महशुस गर्दछन् । चम्फा सिंह भण्डारी भन्नुहुन्छ, “हामीले गन्धर्व समुदायको सँस्कृतिलाई सम्बद्र्धन र प्रवद्र्धन गर्ने कार्यमा सहजीकरण गरेका हौं । उनीहरुको सँस्कृति र परम्परागत पेशालाई व्यवसायीकरण गर्न सकिन्छ भनेर शीप विकासका तालिमहरु  प्रदान  गर्‍यौं ।  नगरपालिका  विकास  कार्यालयले  पनि  यस्तै सहयोग गर्‍यो ।”

समुदायका अगुवा दिलिप गन्धर्व

निरन्तर प्रयासमा परिवर्तन सम्भव छः दिलिप गन्धर्व
संघर्षले  सफलता  हासिल  गर्न  सकिन्छ  भन्ने  ज्ञान  भएर  अहिले हाम्रो  समुदायमा  सकारात्मक  परिवर्तन  आएको  हो  ।  हाम्रा पुर्खाहरुले सारङ्गी बजाएर गीत गाउँदै घुमन्ते फिरन्ते जीवन बिताए । न गाँसको ठेगान, न बासको ठेगान । मगन्ते र दलितको रुपमा हामीलाई गरिने व्यवहारले कष्टकर रुपमा जीवान यापन हुँदै थियो ।

फियान नेपालले हामी जस्ता अशिक्षित, आवजहीन समुदायको मानवीय  विकासमा  ठूलो  सहयोग  गरेको  छ  ।  खाद्य  अधिकार प्राप्तीको  हाम्रो  अभियानमा  हातेमालो  गरेको  छ  ।  त्यसैले हामी  सफल  भएका  छौं  ।  हाम्रो  समुदाय  आर्थिक,  सामाजिक र  साँस्कृतिक  अवस्थामा  क्रमिक  सुधार  हुँदै  आएकोछ  ।  राज्य र समाजले हामीलाई सकारात्मक व्यवहार गर्न थालेका छन् । एकताबद्ध  रुपमा  सामुहिक  प्रयास  गरियो  भने  लक्ष्य  प्राप्ती असम्भव छैन भन्ने कुरा सिकेका छौं र अन्य समुदायलाई पनि सिकाउँछौं । गन्धर्व समुदायको समग्र उत्थानमा नेतृत्व गर्न पाउँदा म अत्यन्तै गौरव महशुस गरेको छु ।

राज्यले हाम्रो पुख्र्यौली पेशालाई सम्मान गर्दै संरक्षण र प्रवर्धन गर्नु पर्दछ । सारङ्गी बजाउँदै गीत गाउने हाम्रो पेशालाई मर्यादित रुपमा विभिन्न अवसर प्रदान गरेमा यो पेशाका जगेर्ना हुनेछ ।

अहिले  उनीहरु  गन्धर्व  विकास  समाजको  रुपमा  संगठित  भएका  छन् जसले  समुदायको  समग्र  उत्थानकोलागि  कार्यहरु  गरिरहेको  छ  ।  लामो संघर्ष र प्रयास पश्चात उक्त समुदायको ३६ घरपरिवारले जिल्ला मालपोत कार्यालयबाट  जग्गाधनी  लालपूर्जा  प्राप्त  गर्न  सफल  भएकाछन्  जुन  नै उनीहरुमा परिवर्तनको शुरुवात थियो । वर्दिया जिल्ला खाद्य अधिकार सञ्जालका  संयोजक  विष्णु  तिमिल्सिना  भन्नुहुन्छ,  “फियान  नेपालले गन्धर्व समुदायको जग्गामाथिको अधिकार स्थापित गर्न सहयोग गरेको हो । त्यसपश्चात उनीहरुको आवासका साथै रोजगारीको अधिकार पनि जिल्लादेखि केन्द्रसम्मका सरोकारवालाहरुको बहसको विषय बन्न पुग्यो । यसका अतिरिक्त यो समुदायले निरन्तर रुपमा बाटो, बिजुली, शिक्षा, आय आर्जनका कार्यक्रमहरु जस्ता सरकारी श्रोत तथा सेवाहरु प्राप्त गरिरहेका छन् भने विभिन्न गैर–सरकारी संघसंस्थाहरुबाट पनि शीप विकास तालिम, व्यापार व्यवसायको लागि ऋण आदि सेवाहरु प्राप्त गर्न थालेका छन् । जिल्ला  खाद्य  अधिकार  सञ्जालले  पनि  उनीहरुको  अधिकारको  लागि निरन्तर वकालत पैरवी गर्नै आएको छ ।”

गाँस,  बास,  कपास  जस्ता  जिवन  निर्वाहका  लागि  चाहिने  आधारभुत आवश्यकता सुनिश्चित हुनुका साथै राजनैतिक सहभागितामा पनि वृद्धि भएको छ । नेपाल सरकारको जनता आवास कार्यक्रम मार्फत समुदायको २७  घरपरिवारको  आफ्नै  पक्की  घर  निर्माण  भएको  छ  भने  २०  घर निर्माणको क्रममा छ । मानखोलामा तटबन्ध निर्माणले खोलाकिनारको जग्गा  सुरक्षित  भएको  छ  ।  अन्य  गन्धर्व  समुदायका  लागि  पनि  यस समुदायको उपलब्धीबाट हौसिएका छन् उनीहरुकै सिको गर्दैछन् ।

Related Posts