| 07-08-2020

चेपाङ्ग समुदायलाई बलपूर्वक विस्थापन


चितवन जिल्लाको माडी नगरपालिका वडा नं. ९ कुशुम खोलामा वि.सं. २०५३ सालदेखि बसोबास गर्दै आएका भुमिहिन चेपाङ्ग समुदायको घरहरु चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले मिति २०७७ साउन ३ गते हात्ती लगाई भत्काउनुका साथै २ वटा घरमा आगजनी समेत गरेको छ । सोही क्रममा राप्ती नगरपालिका वडा नं. २ निवासी २४ वर्षिय राजकुमार प्रजा (चेपाङ्ग) को घोँगी संकलन गरिरहेको अवस्थामा निकुञ्जका सरक्षाकर्मीले नियन्त्रणमा लिई निर्मम यातना दिईएका कारण मृत्यु हुन गएको भनिएको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यस घटनाका कारणले १७ जना नाबालक र बृद्धबृद्धा सहित ५२ जनाको गाँस, बास, भूमि र आयआजर्न को श्रोत खोसिएको छ भने खाद्य जोहो गर्ने क्रममा १ जना किशोरको ज्यान गुमेको छ ।

यस घटनाले मध्यवर्ति क्षेत्रमा बसोवास गर्दै आएका आदिवासी जनजाति, अति सिमान्तकृत भूमिहिन तथा खाद्य जोखिममा रहेका यी समुदायहरुमा भविष्यमा गाँस, बास, भूमि र पेशा व्यवससाय आदि समेतबाट विस्थापन हुनुपर्ने भयले मानसिक विचलनको अवस्था सिर्जना भएको छ । कोभिड–१९ ले विश्व नै आक्रान्त भएको बेला कसरी परिवार धान्ने भन्ने चिन्तामा रहेका यी समुदायमाथी निकुञ्ज प्रशासनबाट भएको अमानवीय व्यवहार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । उक्त घटनामा निकुञ्ज प्रशासनबाट भएको मानव अधिकारको हनन् प्रति हामी खेद प्रकट गर्दछौं ।

प्रेस विज्ञप्ती

फोटो श्रोतः अनलाईनखबर

Latest News




© Copyright 2008 - 2024 FIAN Nepal