नेपालको संविधान २०७२ को धारा ३६ मा व्यवस्था भएको खाद्य सम्बन्धी हक एवं खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को व्यवहारिक कार्यान्वयनका लागि मकवानपुर जिल्लाको राक्सिराङ्ग गाउँपालिकाले फियान नेपालको विज्ञ सहयोगमा खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना निर्माणको सुरुवात गरेको छ । गाउँपालिका उप–प्रमुख निर्मला हिमडुङको संयोजकत्वमा ९ सदस्यीय कायर्दल गठन गरी मिति २०७७ पौषबाट योजना निर्माण कार्यको शुरुवात भएको छ र फाल्गुन महिनाको अन्त्य सम्ममा सम्पन्न गरिने लक्ष्य रहेको छ । पालिकाले उक्त योजनाको प्रभावकारी कार्यान्वयनद्वारा जिल्लाको उत्तर–पश्चिम भागका रहेको साविक ४ वटा गाविसहरु काँकडा, राक्सिराङ्ग, सरीखेत र खैराङ्गका नागरिकहरुलाई आगामी वर्षहरुमा भोकमरी र खाद्य असुरक्षाबाट मुक्त गर्ने अठोट लिएको छ ।