| 27-11-2019

नागरिक समाजको तर्फबाट खाद्य अधिकार ऐनको मस्यौदा नियमावली हस्तान्तरण


नागरिक समाजको तर्फबाट तयार गरिएको “खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५” को स्यौदा नियमावली, नेपाल सरकार, कृषि विकास तथा पशुपंक्षी मन्त्रालयमा

नेपालको संविधानको धारा ३६ ले खाद्य सम्बन्धी हकलाई नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरे बमोजिम नेपाल सरकारले उक्त हकको व्यवहारिक कार्यान्वयनको लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धी ऐन, २०७५ जारी गरी सकेको सन्दर्भमा ऐनको प्रभावकारी कार्यान्वयनका लागि नियमावली लगायतका आवश्यक संयन्त्रहरुको निर्माण गरी संविधान प्रदत्त नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभूताको हकको कार्यान्वयन गर्ने जिम्मेवारी नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको हो । नियमावलीको अभावमा ऐनको व्यवहारिक कार्यान्वयन हुन नसक्ने र खाद्य सम्बन्धी हक उल्लघंन हुने जोखिम रहन्छ । तशर्थ खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभूताको क्षेत्रमा कार्यरत नागरिक समाज तथा संघ सस्थाहरुले सरोकारवालहरुसँगको छलफल तथा परामर्शमा ऐनको मुल मर्म र भावना अनुरुप “खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५” को नागरिक समाजको तर्फबाट मस्यौदा नियमावली, २०७६ तयार गरी नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मंन्त्री माननीय श्री घनश्याम भुषाललाई मिति २०७६ मंसिर १० गतेका दिन हस्तान्तरण गरिएको छ ।

फियान नेपालको अगुवाईमा नागरिक समाजको तर्फबाट तयार पारिएको उक्त मस्यौदा नियमावली गैर सरकारी संस्था महासंघ, खाद्य अधिकार राष्ट्रिय सञ्जाल, दलित गैर सरकारी संस्था महासंघ आदि संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा अखिल नेपाल किसान महासंघको अध्यक्ष तथा पुर्व कृषि तथा पशुपन्छी विकास मन्त्री हरी पराजुलीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा माननीय श्री घनश्याम भुसाललाई बुझाउनु भयो । नियमावली हस्तान्तरण गर्ने कार्यक्रममा पूर्व मन्त्री पराजुलीले उपस्थित सम्पूर्णको तर्फबाट नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नागरिक समाज संघ संस्थाहरुले विगत लामो समयदेखि खाद्य अधिकार र खाद्य सम्प्रभुताका मुद्धालाई उठान गर्दै आएको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने बताउनु भयो । किसान र कृषि क्षेत्रको आवश्यकता साथै समग्र किसानहरुको अगुवाई गरेको अनुभवको आधारमा सबै सरोकारवाला निकायको तर्फबाट नियमावली तयार पारिएको जानकारी दिँदै यो दस्तावेज सरकारले तयार पार्ने नियमावलीको लागि राम्रो सन्दर्भ सामाग्री हने विश्वास व्यक्त गर्दै “सरकारले निर्माण गरेको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७५ कार्यान्वयन गर्न सरकारले अझै पनि केही अन्तराष्ट्रिय कानुनी दस्तावेजहरुको अनुमोदन गर्न बाँकी रहेको छ र सरकारलाई हाम्रो आग्रह छ कि उक्त दस्तावेजहरु चाँडै अनुमोदन होस् ।”

नागरिक समाजको तर्फबाट तयार गरिएको उक्त मस्यौदा नियमावली सहर्स स्विकार गर्दै माननीय मन्त्रीज्यूले यसलाई अध्ययन गर्ने र मन्त्रालयले निर्माण गर्ने नियमावलीको लागि आधारभूत सामाग्रीको रुपमा लिने र नियमावली निर्माणको चरण नागरिक समाजको निरन्तर रुपमा सल्लाह, सुझाव लिने प्रतिवद्धता समेत व्यक्त गर्दै खाद्य अधिकार तथा खाद्य सम्प्रभूतको कार्यान्वयनका लागि चाँडो भन्दा चाँडो आवश्यक संयन्त्रहरुको निर्माण गर्ने समेत बताउनु भयो ।

मस्यौदा नियमावली डाउनलोड

Latest News




© Copyright 2008 - 2025 FIAN Nepal