फियान नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, राष्ट्रिय खाद्य अधिकार संजाल, सामुदायिक बन उपभोक्ता महासंघ, राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघ नेपाल, जुरी नेपाल लगायतका नागरिक समाज संघसंस्थाको प्रतिनिधी मण्डलले २०७९ फागुन ८ गतेका दिन कृषि तथा पशुपन्छी विकास मन्त्री मान्नीय ज्वाला कुमारी साह समक्ष उहाँकै कार्यकक्षमा संयुक्त रुपमा डेलिगेसन सम्पन्न गरेको छ । उक्त अवसरमा नागरिक समाजको प्रतिनिधी मण्डलको तर्फबाट फियान नेपालका कार्यकारी निर्देशक अशोक बहादुर सिंहले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ निर्माण भएको ४ बर्ष विति सक्यो तर नियमावलीको अभावमा संघिय, प्रदेश तथा स्थानिय तहमा ऐन कार्यान्वयन गर्ने संयन्त्र (राष्ट्रिय खाद्य परिषद, प्रदेश खाद्य परिषद र स्थानिय खाद्य समन्वय समिति) निर्माण नहुँदा तिनै तहमा ऐनको कार्यान्वयन हुन सकिरहेको छैन । जसका कारण नागरिक संविधान प्रदत्त खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी मौलिक हक उपभोग गर्नबाट बंचित भईरहेका छन । अत: मन्त्रालयले तत्काल नियमावली निर्माण गरी नागरिकको खाद्य सम्बन्धी मौलिक हकको सुनिश्चित गर्नुपर्ने भनाई राख्नु भएको थियो । त्यसै गरी प्रतिनिधि मण्डलको तर्फबाट राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष नवराज बस्नेतले ज्ञापनपत्र बाचन गर्दै मुख्य मागहरु जस्तै: खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ ले व्यवस्था गरेबमोजिम तत्काल किसानको पहिचान, वर्गिकरण, परिचयपत्र वितरण र सोही बमोजिम सेवा सुविधा र सामाजिक सुरक्षाको व्यवस्था, कृषिमा अनिवार्य रुपमा १५% बजेट विनियोजन, कृषियोग्य भुमिको दिगो उपयोग र व्यवस्थापन, एकिकृत कृषि ऐनको निर्माण र कार्यान्वयन आदिकोे जानकारी गराउनु भएको थियो ।
ज्ञापनपत्र बुझ्दै माननिय मन्त्री शाहले नागरिक समाजसंस्थाले उठाएको सवाललाई गम्भिर रुपमा लिएको र संघिय नियमावली निर्माणका लागि कदम चाल्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
© Copyright 2008 - 2024 FIAN Nepal