| 30-07-2019

नेपाली पानी भारतको मनोमानी


असमान महाकाली सन्धिको असर, आफ्नै पानीको समुचित उपभोग गर्न वञ्चित नेपाली जनता

शारदा ब्यारेजबाट भारत तर्फ लगिने पानीको परिमाण

वि.सं. २०५२ साल माघ २९ गतेका दिन नेपाल र भारत सरकारवीच सम्पन्न शारदा बांध, टनकपूर बांध तथा पन्चेश्वर परियोजना समेत महाकाली नदीको एकीकृत बिकास सम्बन्धी सन्धिमा हस्ताक्षर भयो । यस सन्धिको धारा १.१ मा उल्लेखित सहमति अनुसार नेपाललाई शारदा बांधबाट बर्षायाममा २८.३५ घनमिटर प्रति सेकेण्ड (१००० क्यूसेक) तथा सुख्खायाममा ४.२५ (१५० क्यूसेक) पानी प्राप्त गर्ने अधिकार उल्लेख छ । यद्दपि सन्धि भएको २३ बर्ष भैसक्दा पनि नेपालले सो सन्धिअनुसारको पानी उपभोग गर्नबाट वञ्चित छ र परिणामस्वरुप नेपाली जनताहरु हिउँदमा पानीको अभावमा कृषियोग्य भूमि सिंचित गर्न सकिरहेका छैनन् भने बर्षामा पानीको अत्याधिक बहावका कारण डुबान, कटानको समस्या झेलिरहेका छन् । यसको विपरित भारतले सन् १९९२ देखि नै एकतर्फीरुपमा बाँध बनाई २०००० क्यूसेक क्षमताको नहरबाट पानी उपभोग गर्दै १२० मेगावाट बिजुली उत्पादन तथा सिँचाई गर्दै आएको छ । सन्धि अनुसार नेपालको पक्षमा कार्यान्वयन गरिनुपर्ने थुप्रै बुंदाहरु भारतको तर्फबाट कार्यान्वयन भएको छैन ।

महाकाली सिंचाई परियोजना मार्फत नेपाल तर्फ लगिने पानीको परिमाण

कन्चनपुर जिल्ला कृषिका लागि उर्वर जिल्लाको रुपमा परिचित छ र यहाँका अधिकांश घरपरिवारहरु कृषि पेशामा आवद्ध छन् । तर विडम्बना सिचाईका लागि बनाईएको महाकाली नहरमा नेपाल तर्फ पर्याप्त र समयमा पानी नआउदा खेतियोग्य जमिन बाझै राख्नुपर्ने बाध्यता छ । यसकारणले कृषि उत्पादनमा प्रतिकुल असर परिरहेको छ । महाकाली नदीको पानीको उपभोगमा भारतको एकाधिकारका कारण बर्षादमा बाढी संगै आउने बालुवा लगायत फोहरले नहरको सतह पुरिदै गएकोले नेपाल तर्फको नहरमा पानीको श्रोतमा कमी भई सिचाईको अभाव भई रहेको छ । मानव अधिकारको उपभोगको सन्दर्भमा राज्यका अन्तरदेशीय दायित्व र मौलिक हकको रुपमा संवैधानिकरुपमा सुनिश्चित भएको खाद्य अधिकारको सवालसंग प्रत्यक्ष सरोकार राख्ने समुदायको यो सवालमा फियान नेपालले अक्टोवर २०१८ देखि सहजीकरण गर्दे आएको छ ।

Latest News




© Copyright 2016 FIAN Nepal