| 27-05-2019

चेपाङ समुदायको खानेपानीको सपना साकार हुँदै


समुदायलाई सुविधा सम्पन्न भएको ठाँउमा सार्ने तयारी

धादिङ्ग जिल्लाको बेनिघाट–रोराङ्ग गाउँपालिका वडा नं. २ समुन्द्रि सतहबाट १८४५ मिटर उचाईमा पर्ने विकट गाउँ ब्रुसबाङ्गमा सदियौंदेखि बसोबास गरिरहेका चेपाङ्ग समुदायको स्वच्छ र सुरक्षित पिउने पानीमाथिको अधिकार सुनिश्चितताको लागि फियान नेपालले समुदायलाई अभिमुखीकरण र संगठित गर्दै वकालत तथा पैरवीमा सहजीकरण गर्न शुरु गरेको ५ बर्ष बितेको छ । यस अवधिमा समुदाय आफ्नो सवालको नेतृत्व आफै गर्न सक्षम भई फियान नेपाल र अन्य संघसंस्थको सहयोगमा आफ्ना मुख्य माग पानीको अधिकारको लागि स्थानीयदेखि केन्द्रसम्मका सरोकारवालाहरुको ध्यानाकर्षण गराउन सफल भएका छन् ।

तत्कालिन जिल्ला विकास समिति धादिङ्गको आर्थिक वर्ष २०७२/२०७३ मा १ करोड ५ लाख कोरियन सरकारको दातृ निकाय कोइका र युएनडिपी मार्फत उपलव्ध गराउने र ३५ लाख जिविसले हाल्ने गरी जिल्ला परिषद् २०७१/२०७२ स्वीकृत गरेको थियो । तत्कालिन वडा नागरिक मञ्चका संयोजक टेक बहादुर लामाले पुर्ण बहादुर चेपाङको अध्यक्षतामा उपभोक्ता समति समेत गठन गराएका थिए । कोइकाको सहयोगमा उक्त गाउँमा खानेपानी योजना सञ्चालन गर्नको लागि सम्भाव्यता अध्ययन गरेको थियो तर ब्रुसवाङ्ग भौगोलिक दृष्टिकोणले अति विकट भएको कारण उक्त खानेपानी योजना सम्भव हुन सकेन । तथापी समुदायले आफ्नो मुख्य मुद्दा सम्बोधन गराउन वकालत पैरवीको कार्य जारी नै गरिरहे, हरेश खाएनन् । जिल्ला तहका सरकारी निकायका प्रमुख, अन्य सरोकारवाला निकाय र समुदाय बीच पटक–पटक छलफल जारी रह्यो । संविधान सभा सदस्य माननीय राजेन्द्र प्रसाद पाण्डेलाई समुदयले सन् २३ डिसेम्वर २०१६ ज्ञापन पत्र बुझाए । संविधान सभा सदस्य पाण्डेले बु्रसबाङ्गमा खानेपानी पुर्या‌‍उने पैसाले एकिकृत बस्ती निमार्ण हुने भन्दै बस्ती स्थानान्तरण गर्न समुदाय संग छलफल गर्ने बताए । मानव अधिकार दिवस पारेर २५ डिसेम्वरमा समुदायसंग छलफल गरेर बस्ती स्थानान्तरण नै अन्तिम विकल्प भयो भन्दै समुदायलाई बसाई सर्न आग्रह गरे । यसबाट बस्ती स्थानान्तरण नै अन्तिम विकल्प हो भन्ने निचोड निस्किएको थियो । तर पनि वस्ती स्थानान्तरणले खानेपानीको समस्या समाधान भएपनि नयाँ स्थानमा बसाईसराई गर्दा समुदायको जीविकोपार्जनको परम्परागत अन्य स्रोत माथिको निर्भरता गुम्ने खतरा थियो ।

तत्कालीन जिल्ला विकास समिति हाल जिल्ला सम्न्वय समितिले बस्ती स्थानान्तरणको लागि आफ्नो योजना अनुसार काम गर्न पनि प्राविधिक रुपमा कठिन थियो । यद्यपी चेपाङ्ग समुदायलाई खानेपानीको पहुँच हुनुपर्छ भन्ने कुरामा सबैको एकमत थियो । समुदायको संघर्ष, सरोकारवालाको प्रयास र पहलका कारण अहिले चेपाङ्ग समुदायलाई सुविधा सम्पन्न स्थानमा स्थानान्तरण गर्न सहमति जुटेको छ । यसै सन्दर्भमा, मिति २०७६ जेठ ११ गते प्रतिनिधि सभा सदस्य माननीय भूमि प्रसाद त्रिपाठी ब्रुसबाङ्ग पुगेर समुदाय भेटघाट तथा छलफल गर्नु भएको थियो । उक्त सरोकारवाला बैठकमा माननीय त्रिपाठीले समुदायको सबै खाले सेवा उपभोग गर्ने अधिकार प्राप्त हुने वातावरण तयार भईरहेको र त्यसका लागि समुदाय पनि अहिलेको ब्रुसबाङ छोड्न तयार हुनुपर्ने कुरामा जोड दिनु भयो । “तपाईहरुलाई विद्यालय, स्वास्थ्य, खानेपानी, सडक, विजुली बत्ती सहितका सेवा यही गाँउसम्म ल्याउन धेरै स्रोत खर्च हुने र समय पनि धेरै लाग्छ । त्यसकारण तपाईहरुलाई रोजगारीको अवसर भएको ठाँउमा निश्चित जग्गा र घरका साथै आधारभुत सुविधायुक्त ठाँउमा स्थानान्तरणको लागि तपाईहरुसंग छलफल गर्न आएका हौं”, माननीय त्रिपाठीले भन्नु भयो ।

बेनीघाट–रोराङ गाँउपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले दशैं अघि नै समुदायलाई नयाँ स्थानमा सार्नको लागि तयारी भइरहेको बताउनु हुँदै अबको दशै नयाँ घरमा मानाउन तयार रहन समुदायलाई जानकारी गराउनु भयो । यसको लागि गाउँपालिकाले जग्गा खरीद प्रकृया असार मसान्तसम्म टुङ्गो लगाउने बताउनु भयो । प्रति परिवारलाई छुट्टै भान्सा कोठा सहितको घर, घरैमा पानीको धारा, शौचालय, सामुदायिक भवन, वालवालिका खेल्ने बगैचा, सडक, विजुली सहितको सुविधा भएको नयाँ ब्रुसबाङ निमार्ण गर्ने योजनामा गाउँपालिकाले तयारी गरेको पनि बताउनु भयो ।

निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले बस्ती स्थानान्तरण नै उपयुक्त विकल्प भएको र यसमा जिल्ला स्थित सरोकारवाला सरकारी निकाय पनि सहमति भएको बताउनु भयो । नयाँ स्थानमा रोजगारीका नयाँ अवसरहरु प्राप्त हुने, आधारभूत सेवा सुविधामा पहुँच हुने र जीविकोपार्जनको लागि विकल्पहरु सजिलै प्राप्त हुने हुँदा समुदायले पनि आफ्नो सहमति दिनु पर्ने कुरा बताउनु भयो ।

समुदायको तर्फबाट माननीय सांसद भूमि प्रसाद त्रिपाठीलाई नौ बुँदेध्यानाकर्षण पत्र बुझाउँदै ब्रुसबाङ्ग खाद्य अधिकार समुहको संयोजक प्रेम चेपाङ्गले समुदायको मुख्य माग भनेको नै खानेपानी हो भन्नु भयो । वहाँले विगतमा खानेपानीको जोहो गर्न समुदायले गरेको दुःख सम्झँदै, नयाँ स्थानमा खानेपानी सहित राज्यले आधारभूत सेवासुविधा सहित जीविकोपार्जनको अन्य अवसर उपलब्ध गराउने हो भने समुदाय पनि स्थानान्तरणको लागि तयार रहेको बताउनु भयो ।

चेपाङ्ग समुदायको खाद्य अधिकार स्थापित गर्न सहजीकरण गरिरहनु भएको खाद्य अधिकार अभियन्ता तथा फियान नेपालको सचिव गोकर्ण रुपाखेतीले नागरिकको अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्ने दायित्व राज्यकै भएकाले उनीहरुको माग तत्काल सम्बोधन हुनु पर्ने बताउनु भयो । सरोकारवाला बैठकको अध्यक्षता गरिरहनु भएका जिल्ला समन्वय समिति धादिङ्गका प्रमुख जगन्नाथ नेपालले बस्ती सार्नुको अर्काे विकल्प नभएको बताउदै छिटो भन्दा छिटो बस्ती स्थानान्तरण गर्न समन्वय गर्ने बताउनु भयो ।

यद्यपी नयाँ ब्रुसबाङ्ग परिकल्पना गरिएको सहित बस्ती स्थानान्तरण भएमा ब्रुसबाङ्गका चेपाङ्ग समुदायको जीवनमा आमूल परिर्वतन हुने अनुमान सरोकारवालाहरुको समेत रहेको छ । उनीहरुलाई शिक्षा, स्वास्थ्य, सडक, विजुली बत्ती, घरघरमा खानेपानीको नीजि धारा, साुमदायिक भवन, बाल उद्यान, छुट्टै भान्सा कोठा सहितको घर र जग्गा सरकारले व्यवस्था गर्नु आफैमा सकारत्मक कुरा हो । यसरी समुदायको सवाल सम्वोधन गर्ने क्रममा यी चीज समुदायले प्राप्त गरे भने सरकार आफ्नो दायित्व पुरा गरेका देखिने मात्र नभई एकीकृत वस्ती विकासको नमूना र उदाहरण हुने छ भने समुदायले राज्य भएको महसुश गर्न पाउने छन् । र उनीहरुको जीविकोर्पाजनमा सकारात्मक प्रभाव पर्नेछ । फियान नेपाल यसरी नै खाद्य अधिकारबाट वञ्चित प्रत्येक समुदायको यथोचित जीवनस्तरको हकको लागि निरन्तर प्रयासरत छ ।

Latest News




© Copyright 2016 FIAN Nepal