| 25-07-2018

स्थायी डिपो माग गर्दै आपुर्ती मन्त्रीलाई ज्ञापन

बझाङको दुर्गम साइपाल गाउँपालिकामा नुन चामलको स्थायी डिपो स्थापना हुनु पर्ने माग सहित एक टोलिले मन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ । फियान नेपालको पहलमा साइपाल गाँउपालिकाका अध्यक्ष सहितको टोलीले संघिय सरकारका आपुर्ती मन्त्री मातृका प्रसाद यादवलाई ज्ञापन पत्र पेश गरेको हो ।

राज्यले बझाङका जनतालाई अनुदान सहित नौ रुपैयाँमा वितरण गर्ने आयोडिनयुक्त नुन साइपालवासीले दुई सयसम्म र ३४ रुपैयाँ प्रतिकिलो पर्ने अनुदानको चामल तीन सय रुपैयाँसम्म तिरेर खानुपर्ने बाध्यता भएपछि गाउँमै स्थायी डिपोको माग गर्दै ज्ञापन पत्र पेश गरिएको हो ।

साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामी, साँसद आशाकुमारी विक, पुर्व सभासद अफिलाल ओखेडा, फियान नेपालका कार्यकारी निर्देशक अशोकबहादुर सिंह सहितको टोली ज्ञापन पत्र बुझाउनका लागि सिंहदरबार पुगेको थियो ।

साइपाल गाउँपालिका क्षेत्रफलको हिसाबले जिल्लाको झण्डै ४५ प्रतिशत भूभाग ओगटेको र सम्भवतस् देशकै सबैभन्दा ठुलो दुर्गम गाउँपालिकाभित्र पर्छ। उच्च हिमाली भू–भागमा पर्ने यो गाउँपालिकामा स्थानीय उत्पादन कम हुने भएकाले दैनिक उपभोग्य सामानको लागि पूर्ण रुपमा आयातमा निर्भर हुनुपर्ने हुन्छ। न्यून आर्थिक अवस्था भएका यहाँका बासिन्दालाई १२ महिना काम गरेर तीन महिना दुईछाक टार्न धौधौ पर्छ ।

अनुदानको नुन चामललाई समते धेरै मूल्य तिरेर गुजारा चलाउन साइपालवासीलाई कठिनाई हुने गरेको छ । सडकको पहुँच नपुगेका कारण ढुवानीमा समस्या हुने भएपछि यहाँ नुन र चामलको सहज पहुँच हुन नसकेको हो ।

खाद्य सुरक्षाका हिसाबले समेत उच्च जोखिममा रहेको यस गाउँपालिकामा स्थायी डिपो हुनु पर्ने यहाँका बासिन्दाको मागमा फियान नेपालले सुरुवात देखी नै सहयोग गर्दै आइरहेको छ । लामो संर्घष पछि गतव वर्षबाट साल्ट ट्रेडिङ कर्पोरेशनले आयोडिनयुक्त नुन र नेपाल खाद्य संस्थानले अनुदानको चामल बर्षमा एक पटक उपलब्ध गराउदै आएको छ । गतवर्ष साइपाललाई अनुदानको नुन पाँच सय क्विन्टल र चामल दुई हजार क्विन्टल उपलब्ध गराइएको भए पनि उक्त परिमाणको नुन चामल अर्पयाप्त भएकोले सधै सहज रुपमा आपुर्तीको लागि स्थायी डिपो नै स्थापना हुनु पर्ने माग यहाँका बासिन्दाको रहेको छ ।

यसअघि फियान नेपाल कै पहलमा प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई पनि यसै सन्दर्भमा ज्ञापन पत्र बुझाएको भए पनि प्रदेश सरकारबाट यसको दीर्घकालिन समाधान गर्न ठोस पहल नभए पछि संघिय सरकारको ध्यानार्कषण गराउनु परेको गाउँपालिका अध्यक्ष धामीले बताउनु भयो ।

संविधानले खाद्य अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गरिरहेको सन्र्दभमा साइपाल गाउँपालिकाका जनताहरुले पर्याप्त खाद्यान्न नपाएर भोकमरीको सामना गर्नु परिरहेको भन्दै यसै आर्थिक वर्षभित्रमा गाउँपालिकामा नुन र चामलको स्थायी डिपो स्थापनाका लागि पहल गरी खाद्य अधिकारको संरक्षण गरिदिन ज्ञापनपत्रमा भनिएको छ।

सदरमुकाम चैनपुरबाट पैदलै जाँदा साइपाल पुग्न चार दिन लाग्छ । भौगोलिक विकटताको कारण सरकारले जनतालाई प्रदान गर्ने शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात जस्ता आधारभूत पुर्वाधारको अभावमा बासिन्दाहरुले एक शताब्दी अघिको जस्तो जीवन यापन गर्नु परिरहेको छ।

ज्ञापन पत्र बुझ्दै आर्पुती मन्त्री मात्रिकाप्रसाद यादवले स्थायी डिपो स्थापनाको लागि सक्रिय पहल गर्ने आश्वासन दिनु भएको छ । ‘हामी यो समस्याप्रति गम्भीर छौँ, तपाईहरुको घरदैलोमा नुन चामल सहजै पुग्ने र यसको विषयमा चिन्ता नलिने वातावरण बनाउछौँ। ’ उहाँको भनाई छ ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा विभिन्न संचार माध्यमका पत्रकारहरु पनि उपस्थिती रहेको थियो ।

Latest News




© Copyright 2016 FIAN Nepal