| 22-02-2018

मेहनती कुमाल हराभरा पिपलटार

समथर भुभाग, दक्षिणमा छोटी गण्डकी र मजुवारटार, उत्तरमा बुढीगण्डकी पूर्वमा खरीको जंगल र उत्तरमा कालीमाटी त्यही सिमानामा पिपलटार । जहाँ अधिकार विहिन कुमाल समुदायको वास्थान थियो । बीसबर्षदेखि सिंचाईको लागि पानीको अभावबाट गुज्रिरहेका मैदी गाविस, पीपलटारका कुमाल समुदायमा अहिले खुशिको लहर छाएको छ । फियान नेपाल, खाद्य अधिकार सञ्जाल, धादिङ्ग तथा अन्य संघसंस्थाको सहयोगमा सिंचाईको लागि पानीमाथिको अधिकार स्थापित गराउन पाउंदा उक्त समुदायको जीवनशैलीमा परिवर्तनको किरण देखिन थालेको हो । पेशाले माटोको भाँडा बनाउने भएता पनि पीपलटारका कुमालहरुको जीविकोपार्जनको प्रमुख माध्यम कृषि नै थियो । तर कृषि पेशाले बर्षभरि खाद्यान्न पुर्याोउन नसकिने भएपछि धेरैजसो युवा रोजगारीको खोजीमा देशका अन्य स्थान र विदेश पलायन हुन पुगे भने गाँऊमा भएका अलि अलि कुमालहरु ज्याला मजदुरीको काम गर्न थालेका थिए ।

कुमाल समुदायको खाद्य सुरक्षाका लागि सिंचाई कार्यालयले २०२८–३२ सालमा नहर निमार्ण गरेको थियो । नहर निमार्ण भएको २० वर्षपछि २०५२ सालमा जिल्ला सिंचाई कार्यालयले पिपलटार सिंचाई आयोजनाको ६० मिटर माथी बांध बांधीे मजुवा तर्फ अर्को नहर निमार्ण गरिदियो । त्यो नहरबाट निजी कुटानीपिसानी मिल सञ्चालन र निकास पानी मजुवालीले सिंचाई गर्न लगे । २०५२ सालदेखि २०६५ सालसम्म कुमालहरु सिंचाई सुविधाबाट वञ्चित भई आकाशे खेतीमा भर पर्नुपर्ने बाध्यता बन्यो । तत्पश्चात कृषि उत्पादनमा कमी आउनाले कुमाल समुदायमा खाद्यान्नको अभाव चुलिएको हो ।

कुमाल समुदायको विकासको लागि कार्यरत जगतज्योति सामुदयिक विकास समाजको पहलमा जिल्ला खाद्य अधिकार सञ्जाल, धादिङ्ग र यु.एम.एन.ले संयुक्त रुपमा यस घटनालाई उजागर गर्‍यो भने फियान नेपलाले सन् २००९ मा विस्तृत कार्ययोजना सहित विभिन्न चरणमा अभिमूखीकरण कार्यक्रम, संघर्ष समितिको गठन र सशक्तीकरण गर्नुका साथै सरोकारवालाहरुसँग छलफल, डेलिगेशन, मागपत्र पेश गर्ने जस्ता विभिन्न दबाबमुलक कार्यक्रमहरुमा कुमाल समुदायको अगुवाई स्थापित गराउन सहजीकरणको भूमिका निर्वाह गर्‍यो ।

टोप नारायण श्रेष्ठ, जगतज्योति सामुदायिक विकास समाज

यु.एम.एन.सँगको साझेदारीमा जगत ज्योति सामुदायिक विकास समाजले मैदी ९, धादिङमा रहेको कुमाल वस्तीलाई लक्षित समुह वनाई कार्यक्रम अगाढि वढाएको थियो । कुमाल समुदायको जग्गा जमिन प्रशस्त हुँदा हुँदै पनि कृषि उत्पादन सोचे जस्तो हुन सकिरहेको थिएन । यसको मुख्य कारण नजिकै को मजुवाटारवासीले कुमाल समुदायको खेत तथा जग्गा रहेको स्थानवाट सिंचाई कुलो आफ्नो खेतमा लगेको थियो ।

जिल्लामा भइरहेका खाद्य सुरक्षाको सवालहरुलाई वकालत तथा पैरवी गरि समाधान गर्न जिल्ला खाद्य सुरक्षा संजाल गठन गरियो जसमा जेड्स नेपालको समेत आवद्धता रह्यो र कुमाल समुदायको यही विषयलाई पटक पटक उठाइयो । संयोगवश फियान नेपालले पनि धादिङलाई कार्यक्षेत्र वनाई कार्यक्रम शुरु गर्न थाल्यो र कुमालहरुको यही सवाललाई अधिकारको दृष्टिकोणबाट उठान गर्‍यो ।

तिसौ वर्ष देखि पानीको सहज तथा न्यायोचित वितरण नभएर पछाडि पारिएका कुमाल समुदायको सशक्तिकरणमा सवै संस्थाहरुको सहयोग महत्वपूर्ण रह्यो । अन्ततोगतवः उनीहरुको खोसिएको सिंचाईको लागि पानीको अधिकार पुनर्स्र्थापित हुन सफल भयो ।

वि.सं. २०६७ साल असोज २२ गते मजुवाटारका समुदाय र पिपलटारका कुमाल समुदायका बीचमा सिंचाईको लागि पानीको बाँडफाँडमा समझदारी भए पछि उनीहरुको सिंचाईको लागि पानीमाथिको अधिकार पुनःस्थापना भयो । जिल्ला विकास समिति, धादिङ्ग र जेड्सको आर्थिक सहयोग र समुदायकै श्रमदानमा जिर्ण नहरको पुनर्निर्माणले कुमाल समुदायले खेतीपातीको लागि पर्याप्त पानी उपभोग गर्न पाउँदा उनीहरुको उत्पादनमा क्रमिक सुधार आएको छ । पहिला बजारको सोयाबिनको तरकारी मात्र खाइरहेका कुमाल समुदाय अहिले आफैंले उत्पादन गरेको तरकारी खानुका साथै बचेको तरकारी बिक्रि पनि गर्न थालेका छन् । यसरी भएको आम्दानी स्थानीय सहकारी संस्थामा बचत पनि गर्न थालेका छन् । त्यति मात्र नभई, फियान नेपालको सहजीकरणमा भएको अवलोकन भ्रमणको प्रेरणाले समुदायका सबै घरपरिवार सगरमाथा, लालीगुँरास र मनकामना कृषक समूहमा आबद्ध भई अझ सशक्त रुपमा एकअर्काको समस्या समाधानको लागि सक्षम भएका छन् । त्यसै गरि, धादिङ्ग जिल्लाको विभिन्न स्थानमा गरिएको व्यवसायिक तरकारी खेती सम्बन्धी अध्ययन भ्रमणको फलस्वरुप सो समुदाय पनि व्यवसायिक तरकारी खेती तर्फ आकर्षित भएका छन् ।

कसरी समुदायको शसक्तिकरण गर्ने, कसरी सिंचाईका लागि पानी प्राप्त गर्ने, कसरी नहर मर्मत र कोष व्यवस्थापन गर्ने, कसरी समुह परिचालन तथा व्यवस्थापन गर्ने विषयमा बारम्बार छलफल गराई रहनु हुन्थ्यो । नयां तथा उन्नत जातको वाली लगाउने, उत्पादन बढाउने र पोषणयुक्त खाना खाने दो¥याइ रहनु हुन्थ्यो । खुला दिशापिसावले रोग व्याधी आउँछ । जनताको अगुवाईमा विकास गर्न योजना तर्जुमा गरेर काम गर्‍यो । त्यसले हामीलाई नेतृत्व गर्ने सीप र मनोवल बढाएको छ ।

फियान नेपालले खाद्य अधिकार र पैरवी सम्वन्धी सिकाउन धेरै पटक तालिम, भ्रमण गराएको सम्झन्छन् पिपलटार खाद्य अधिकार समूह एंव पिपलटार सिंचाई आयोजनाका पूर्व अध्यक्ष ठाकुर कुमाल । आज हाम्रो खुशीमा फियान जोडिएको छ । अधिकार विहिनहरुलाई अधिकार दिलाउन अधिकारको कुरा पढाउदैं अधिकार प्राप्त गर्ने तरिका सिकाउदै अधिकार विहिन वस्तीमा पुगेको छ । अधिकार विहिनहरुलाई अधिकार दिलाउन सफलता मिल्योस फियान नेपाललाई ।

फूलमाया कुमालको अगुवाईमा ७ सदस्यीय सिंचाई उपभोक्ता समिति गठन गरी विभिन्न संघसंस्थाको सहयोगमा “जनताको आगुवाईमा विकासका कार्यक्रम“ तर्जुमा गरी उन्नती तर्फ अघि बढिरहेका छन् । विगतका समस्या तथा सवालहरु प्रायः जसो समाधान भई आज भोलि कुमाल समुदायको मुहार समेत हसिलो देखिएको छ ।

Latest News




© Copyright 2016 FIAN Nepal