| 20-11-2018

जग्गाधनी पूर्जा नहुदाँ चेपाङहरुले घर बनाउन पाएनन्

उठिवास लाउँछ कि सरकारले

भुकम्प पश्चातको आवास पूननिर्माण लाभग्राही सूचीमा नाम नपरेर घर बनाउन नपाएको कुरा त पुरानै हो । आवास पुननिमार्ण सुचीमा नाम भएरपनि घर बनाउन नपाएको नयाँ किसिमको समस्या आएको छ । बेनीघाट–रोराङ गाँउपालिका वडा नं. २ (साविक महादेस्थान गाविस वडा नं. ३ र २) पार्लाक, बाङकुर्ती र भैसे गाँउका चेपाङ समुदाय यस्ता समस्यामा परेका हुन् ।

बाकुराङबाट पूर्ण बहादुर चेपाङ, हस्त बहादुर प्रजा, सुकरा चेपाङ, सुकराम बहादुर चेपाङ, सोम सिं चेपाङ, चन्द्र बहादुर चेपाङ, दिपलाल चेपाङ, सोम बहादुर चेपाङ र सोम बहादुर चेपाङको आवास निमार्ण लाभग्राही सूचीमा नाम निस्केको छ । यसैगरी पार्लाकबाट शुकराम चेपाङ, लाल बहादुर चेपाङ, दिल बहादुर चेपाङ, वीर बहादुर चेपाङ, शेर बहादुर चेपाङ, विक्रम चेपाङ र आइत सिं चेपाङको नाम आवास निमार्ण लाभग्राही सूचीमा नाम निस्केको छ । आवास निमार्ण सुचिमा नाम भएर पनि घर निमार्ण गर्न सम्झौता रोकिए पछि धेरै पटक वडा कार्यालय र गाँउपालिका धाएको जीत बहादुर चेपाङले बताए । दिल बहादुर चेपाङले थपे “मेरो त घरको जगसम्मै लडेको थियो नाम निस्केन, नाम निस्केकाहरुले पनि घर बनाउन पाएका छैनन् । नाम निस्केर मात्र के गर्नु हाम्रो पूर्जा छैन हामीले घर बनाउ नपाउने?” घरको जगसम्मा उत्रेका अर्का लाल बहादुर चोपङले थपे “विहान वेलुका के खाउ भन्नु परेको छ । घर कसरी बनाएर बस्नु । न पानी छ, न अन्न छ, छ त दुःखी ज्यान मात्र । हाम्रो लागि बोलि दिने को छ र ।“

आफुहरुसंग जग्गा हुदाँ हुदै पनि सुकुम्वासी हुनु परेकोमा पिडा छ । जुन पीडा हामीसंग छ, हाम्रो मात्रै प्रयासले हटाउन सकिदैन । गाँउभरीका सवैको पूर्जा छैन । पार्लाक र बाङकुर्ती गाँउका जग्गा २०३२ सालमा बाग्मति अञ्चल, धादिङ जिल्ला, लोथर कान्द्राङ पञ्चायत वडा नं. ४ को ठेगानामा नापी भएको थियो । तर अहिले लोथर कान्द्राङ चितवन जिल्लामा परेको कारणले यो समस्या परेको हो ।

बनीघाट-रोराङ गाउँपालिका, वडा नं २ का अध्यक्ष टंक बहादुर थापाका अनुसार नापी धादिङ जिल्लाबाट भएको र पछि भूगोल चितवनमा गाभिएकोले श्रेस्ता चितवन जिल्लामा छ । अव उनीहरुले नापी भएदेखि भुमिकर पनि तिरेका छैनन् । अव पूर्जा निकाल्न भूमिकर तिर्नु पर्ने अवस्था आयो भने कसरी तिर्न सक्छन् । अहिले उनीहरुसंग  नागरिकता र मतदाता परिचय पत्र धादिङ जिल्लाबाट बनेको छ । समस्या समाधान गर्न चितवनको राप्ती नगरपालिका र  धादिङको बेनीघाट रोराङ गाँउपालिकाले संयुक्त रुपमा पहल गर्नु पर्ने बताए ।

“हामीसँग जग्गा छ, नापी पनि भएको छ तर प्रमाण छैन, पूर्जा छैन, उठिवास लाउँछ कि सरकारले भन्ने चिन्ता छ । हामीलाई धादिङबाट नै लालपुर्जा चाहिन्छ, चितवन जादैनौ ।“ एकै सासमा रुप बहादुर चेपाङले भने । “हामीलाई खाद्यान्न र पानीको पनि अभाव छ । सुत्केरलिाई टाँकीको मुन्टा, सिस्नो, लट्टे खुवाउनु पर्ने अवस्थाका हामीले कसरी घर बनाउनु । हामी ज्यालाबाट बाँचेका छौं । जंगलमा खाने चीज के पाइन्छ भनेर खोज्दै हिड्नु पर्छ ।“ कयौ दिन भोकै सुतेको सम्झे रुप बहादुरले ।

Latest News




© Copyright 2016 FIAN Nepal